काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनकाे मतपरिणाम सन्तोषजनक नभएको भन्दै चिन्ता जाहेर गरेका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले विदेशमा बस्ने नेपालीहरुको प्रभाव राजनीतिमा बढेको भन्दै उनीहरुलाई सम्बोधन गर्ने गरी पनि सोच्नु पर्ने बेला आएको बताएका छन्।
उनले पार्टीको आन्तरिक एकतादेखि संगठन विस्तार र नागरिकसँगको सम्बन्धका बारेमा पार्टीमा गहिरो गरी समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण आगामी बजेटमा आफ्ना सांसदहरुको सुझावका लागि साेमबार संसदीय दलको बैठक डाकेका थिए। कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामप्रति चिन्ता जाहेर गरेका थिए।
कांग्रेसले सत्तारुढ पाँच दलको समर्थनमा चितवन र तनहुँमा उम्मेदवारी दिएको थियो। तर दुवै ठाउँमा कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पराजय गर्ने संकेत देखिएको छ। रास्वपाले उपनिर्वाचन जित्ने संकेतपछि कांग्रेस संसदीय दलमा त्यसबारेमा प्रारम्भिक चर्चा भएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।