काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी विश्वासको मत पाउन असफल भएका छन्। प्रदेश सभामा सोमबार भएको मतदानमा गिरीले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।
मतदानमा प्रस्तावको पक्षमा अर्थात् गिरीको पक्षमा ३३ सांसदले मात्रै मत दिएका थिए। प्रस्तावको विपक्षमा ५३ मत परेको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका थिए।
विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गिरीको सत्तायात्रा १०३ दिनमै टुंगिएको छ।
गिरी गत पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा तथा स्वतन्त्र सांसदहरुको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए। भोलिपल्ट सपथ ग्रहण गरी उनले कार्यभार सम्हालेका थिए।
माघ ५ गते पहिलो पटक विश्वासको लिँदा उनलाई ५७ मत प्राप्त भएको थियो। त्यतिबेला उनको विपक्षमा २८ मत खसेको थियो।
तर संघीय गठबन्धन परिवर्तन भएपछि चैत १२ गते नै माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीहरुले राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। सोही कारण सोमबार मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्।
चैत १२ गते नै प्रदेश सभाका ८ दल र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेर कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।