काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभामा विश्वासको लिने प्रस्ताव पेस गरेका छन्। सोमबार बसिरहेको प्रदेश सभा बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन्।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री गिरीले आफ्नो कार्यकालमा गरेका कामहरुको वर्णन गरेका छन्। उनले मन्त्रालय र मन्त्रीको संख्या घटाएर उल्लेखनीय खर्च बचाएको बताए। उनले मन्त्रीहरु १७ बाट घटाएर १० र मन्त्रालय १३ बाट घटाएर ९ बनाएको बताए।
'चार हजार चार सय ३६ रहेको दरबन्दीलाई हामीले तीन हजार तीन सय ९२ मा झारेका छौँ। मन्त्रालयको संख्या र यसको खर्च कटौती गर्दा हामीले प्रतिमहिना ४७ लाख ९४ हजार बचत हुने अवस्थामा आइपुगेका छौँ', उनले भने।
प्रदेश सभाबाट २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी पारित गरे पनि स्थायी राजधानी व्यवस्थापनको काम बाँकी नै रहेको र आफूहरुले सुरु गरेको मुख्यमन्त्री गिरीको भनाइ छ।
'संविधान कार्यान्वयनको सवालमा यो प्रदेश सरकारको महत्त्वपूर्ण उपलब्धि हो। भावी पुस्ताका लागि सुन्दर राजधानीका लागि बनाइएको गुरुयोजना अनुसार काम अगाडि बढाइएको छ', उनले भने।
उनले जनताको भावना आकांक्षा र विश्वासको कदर गरेर नै लुम्बिनी प्रदेशलाई देशभरका प्रदेशहरुमा अब्बल प्रदेश, उत्कृष्ट सरकार र प्रभावकारी प्रदेश बनाउन आफूहरु प्रयत्नरत भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।