काठमाडौं- चितवन- २ मा मतगणनाका लागि बोलाइएको सर्वपक्षीय बैठकमा विवाद भएको छ। नेपाली कांग्रेसका प्रतिनिधिहरुले मतगणनाअघि निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीमा निर्णय हुनुपर्ने तर्क अघि सारेका छन्।
उनीहरुले मतदानस्थलमा जुलुस र नाराबाजी गर्दै स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेमाथि कारबाही हुनुपर्ने र आचारसंहिता कार्यान्वयनको कार्य अघि बढ्ने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने माग अघि सारेका छन्।
बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको भए पनि झण्डै दुई घण्टा ढिला गरी सुरु भएको थियो। बैठकमा सीडीओ उपस्थित भएर कारबाहीको प्रतिवद्धता जनाउनुपर्ने भनेपछि एमालेले पनि साथ दिएको छ। सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गर्ने भनिएपछि सहमति जुट्न नसकेको र मुख्य निर्वाचन कार्यालय सहमति पर्खिरहेको बताए।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन। चितवन- २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।