बारा- बारा क्षेत्र नम्बर २ मा जारी चुनावमा सत्ता गठबन्धनले केही ठाउँमा बूथ कब्जा गर्दा पनि प्रहरी प्रशासनले नसुनेको गुनासो जनमत पार्टीका अध्यक्ष सिके राउतले गरेका छन्।
विभिन्न बूथको अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेषगरी चारवटा बूथमा समस्या देखिएको उनले बताए। उनले भने, ‘देवताल-२ मा मेयरका भाइले नै बूथ कब्जा गरेका छन्। बेलडाँठमा पनि बूथ कब्जा भएको छ। हाम्रा बूथ प्रतिनिधिलाई छिर्न दिइएको छैन तर प्रहरी प्रशासनले चासो देखाएको छैन।’
नहरभन्दा उत्तरतिरका बूथमा राम्रो भए पनि दक्षिणमा समस्या देखिएको उनले बताए। प्रहरी सत्तापक्षकै प्रभावमा रहेकाले आफ्नो गुनासो सुनुवाइ नभएको उनको भनाइ छ।
उनले थपे, ‘बूथ कब्जा उनीहरुले गरेपनि जनताले भोट हामीलाई नै हाल्छन्।’ उक्त क्षेत्रमा जनमतका तर्फबाट शिवचन्द्र कुशवाह चुनाव लडिरहेका छन्।
सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्। प्रतिष्पर्धा भने जसपा र जनमतको नै हुने प्रारम्भिक रिपोर्टहरुले देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।