बारा- बारा क्षेत्र नम्बर २ मा जारी चुनावमा सत्ता गठबन्धनले केही ठाउँमा बूथ कब्जा गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको छ।
देउताल गाउँपालिका वडा नं २ र महागढीमाइ गाउँपालिकाको इनर्वा बूथमा कब्जाको प्रयास भएपछि विवाद भएको हो।
उक्त पार्टीका नेता बिपी साहका अनुसार ती क्षेत्रमा कब्जा गर्ने प्रयास भएपछि आफ्नो पार्टीका तर्फबाट प्रतिवाद गरिएको छ। सबै निर्वाचन क्षेत्रमा हो-हल्लाबीच मतदान भने जारी छ।
महागढीमाइ गाउँपालिकाको इनर्वामा भने परीवेक्षक र पत्रकारलाईसमेत प्रहरीले बूथनजिक जान नदिएको भन्दै कब्जाको आशंका गरिएको छ।
यसैगरी गढीमाइ नगरपालिका ९ पिपरा बूथमा पनि कब्जा प्रयास भएको भन्दै मतदानका क्रममा केहीबेर विवाद भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले १२ वटा बूथ कब्जाको तयारी गरिएको भन्दै शनिबार राति सूचना सार्वजनिक गरेका थिए।
उक्त क्षेत्रमा जनमतका तर्फबाट शिवचन्द्र कुशवाह, सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।