फाइल तस्बिर
काठमाडौं– आज देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रनिनिति सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार तीनै क्षेत्रमा एकैसाथ मतदान सुरु भएको छ।
तनहुँ–१, बारा–२ र चितवन–२ मा ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान बेलुका ५ बजेसम्म हुने आयोगको तालिका रहेको छ। यस्तै गृह मन्त्रालयले निर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन्। मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ।
४ मंसिरमा रास्वपाबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुँदै छ। यसपटक पनि लामिछाने रास्वपाबाटै उपनिर्वाचनमा होमिएका छन्। यता तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था चुस्त राख्न शनिबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।