काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए। वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको उनले टिप्पणी गरे।
पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए।
रास्वपा सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको भट्टराईले बताए। उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।