काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताए। आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने उनले आरोप लगाए।
उनले कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए। उनले भने, ‘मैले आउँदै गर्दा मिटरब्याजीहरु सिंहदरबार अगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ। हामीले किन बुझाउन सकेका छैनौं। छानबिन र दण्ड गर्नेकुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौं। यो अनेक खालको षड्यन्त्र पनि हुनसक्छ। कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।