काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि शनिबार गण्डकी प्रदेश सभा जारी छ।
बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री अधिकारीले अस्थिरताको बाहक हुने कि स्थायित्वको संवाहक हुने? भन्दै दलहरुमाथि प्रश्न गरे। यो प्रश्नको जवाफ अवश्य पनि संसद्ले पनि खोज्ने उनले बताए।
‘बाहिर प्रदेश सभा र प्रदेश सरकारको औचित्यमाथि खडा भइरहेका प्रश्नहरुको जवाफ पनि हामी सबैले सँगै जवाफ दिनुपर्ने छ। हामी केन्द्रको छाया होइनौं। हामी एकताबद्ध भएर आफ्नो अधिकारका लागि केन्द्रसँग लड्ने छौं भन्नुको औचित्य साबित भयो कि भएन। यसको जवाफ पनि खोज्नुछ’, उनले भने।
उनले अस्थिरता निम्त्याउने काम कसबाट भएको छ? भन्ने कुरा पनि प्रश्न चिह्न खडा भएको बताए। भने, ‘प्रदेश संरचना आवश्यक छैन भन्नेहरुलाई यसले बल पुग्छ कि पुग्दैन? यो प्रश्नको भुमरीमा हामी छौं।’
आफ्नो सम्बोधनमा माओवादीलाई पटकपटक कटाक्ष गरेका मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्र साथमा रहुञ्जेल भने मिलेरै काम गरेको बताए।
अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनांगे) को समर्थन प्राप्त गरेका थिए।
उनले पुस २९ मै विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रीय गठबन्धन नै परिवर्तन भएपछि उनको सरकार संकटमा परेको थियो। जसअनुसार, माओवादी केन्द्रले चैत १० गते सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको थियो।
संवैधानिक प्रावधान अनुसार उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। सोही अनुसार उनले २९औ दिनमा शनिबार विश्वासको मत लिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।