काठमाडौं- बाघको आक्रमणबाट बेपत्ता भएकी कञ्चनपुर, बेलौरी नगरपालिका–८, पचुइँकी गङ्गा चन्दको शव २२ घण्टापछि भेटिएको छ। उनको शव शनिबार बिहान फेला परेको हो। महिलालाई आक्रमण गर्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ। ‘बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ‘, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भने, ‘बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ।’
चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।