काठमाडौं- महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बाघले कञ्चनपुरको बेलौरी–८ पचुँइकी गङ्गादेवी चन्दलाई आक्रमण गरी बेपत्ता पारेको थियो। बाघको खोजीमा प्रहरीको प्राविधिक टोली खटिएको थियो। लामो प्रयासपछि बाघ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताए।
‘बाघ नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने कुरो थियो’, उनले भने, ‘बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीयबासी सक्रिय छन्।’ चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।
घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपपछि प्रहरी र बनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो। सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।