काठमाडौं- कञ्चनपुरको बेलौरी नगरपालिका-८, पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ सहितको टोली परिचालन गरिएको छ।
निकुञ्जका डा दिनेश देवकोटा सहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ। बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन बन कार्यालय कुण्डाको बन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ।
‘शुक्रबार नै बाघलाई नियन्त्रणमा लिन धेरै प्रयास गर्यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन’, सवडिभिजन बन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भने, ‘अग्लो घाँस हुँदा बाघलाई नियन्त्रणमा लिन गाह्रो भएको छ।’ दुई दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए। उनका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकी छैनन्।
शुक्रबार बिहान ९ बजे खेतमा घाँस काट्दै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो। बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले खोजी तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन्।
भारतको दुधुवा नेसनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ। सीमा क्षेत्रमा दिउँसै ओहरदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाएपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।