काठमाडौं- वैशाख १० गते तनहुँ- १ मा हुने उपनिर्वाचनको दिन पृथ्वी राजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ। मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिङदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो।
सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। मुग्लिङबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिङतर्फ जाने सवारी साधनलाई डेढ/डेड घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए।
उपनिर्वाचनका दिन आइतबार तनहुँ- १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्ण रुपमा बन्द हुनेछ। ‘अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ,’ उनले भने, ‘मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा झर्न पाइँदैन।’ निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरु तनहुँ- १ अन्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दीपुर र देवघाट क्षेत्रमा झर्न पाउँदैनन्।
उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको प्रजिअ रिजालले जानकारी दिए। मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।