काठमाडौं- यही वैशाख १० गते हुने तनहुँ- १ को उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन्। तनहुँ- १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन्।
निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएपश्चात् शुक्रबार केन्द्रमा सामग्री दिएर खटाइसकिएको निर्वाचन कार्यालय कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार दमौली आसपासका केही मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा मतपत्र पनि पुगिसकेको छ।
प्रमुख ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ। मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन्। उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ।
उपनिर्वाचनका लागि उक्त क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।