काठमाडौं– निर्वाचन आयोगले वैशाख १० गतेको उपनिर्वाचनको मौन अवधिको अनुगमन तथा निगरानी कडाइका साथ गर्न निर्देशन दिएको छ। उक्त निर्वाचनका लागि बिहिबार मध्य रातिदेखि मौन अवधि सुरु भएको छ।
मौन अवधि मतगणना सम्पन्न नभएसम्म रहने छ। आयोगले उक्त अवधिको पालनाको अवस्थालाई अनुगमन गर्न सरोकालवालाहरुलाई शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो।




‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन यही वैशाख १० गते आइतबार भन्दा ४८ घन्टा अघि (हिजो मिति २०८० वैशाख ७ गते बिहीबारको राति १२ बजे) देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको व्यहोरा बिदितै छ,’ आयोगले भनेको छ, ‘आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत् सूक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको छ। निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोग पुनः जानकारी गराउँदछ । यस उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निधेष अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देश गर्दछ।’
यस्तै, आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेकाले सोको पालना गर्न/गराउन पनि सम्बन्धित सबैमा निर्देशन जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।