काठमाडौं- सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण हुने कुरा भएको भए पनि मिति भने तय भइनसकेको बताएकी छिन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भ्रमणका बेलामा उठाउन मन्त्रालयहरुले आफ्नो प्राथमिकताको आधारमा योजनाहरु बनाइरहेको बताइन्।
'प्रधानमन्त्रीको भारत भ्रमण हुने कुरा छ। तर त्यसको मिति 'फिक्स' भएको छैन', उनले भनिन्, 'एउटा छिमेकी राष्ट्र भ्रमणका बेलामा के तयारी गर्ने भन्ने मन्त्रालयहरुले आफ्नो प्राथमिकताका आधारमा योजनाहरु बनाउँछन्। कस्ता योजना बनाउने भनेर क्याबिनेटले नै स्वीकृति गर्छ।'
उनले भ्रमणका बेलामा उठाउन अजेन्डाका बारेमा विविध चरणमा तयारी भइरहेको बताइन्। 'मन्त्रालयहरुले आवश्यक तयारी गर्ने नै छन्। तर अहिले मिति फिक्स भइसकेको अवस्था होइन', उनले भनिन्।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही वैशाख तेस्रो हप्ता हुने तयारी चलिरहेको खबर सार्वजनिक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।