काठमाडौं– तानसेन नगरपालिकाले हिजोबाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ।
पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको छ। दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने कार्य रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दायर भएको थियो।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले अदालतको आदेशपछि संरचना भत्काउने कार्य तत्कालका लागि रोकिएको जानकारी दिए।
पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका ३, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका ३ वटा घर टहरा रहेका थिए। सामान हटाएपछि घरटहरा भत्काउन शुरु गरिएकोमा हाललाई अदालतको पत्रपछि भत्काउने कार्य स्थगित गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।