तनहुँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन्।
बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरी नयाँ बजेटको तयारी गरिएको बताएका हुन्।
सभामा प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ। हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ। हामी नयाँ बजेट ल्याउने तयारीमा छौं। नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं।’
प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँवासीलाई अपिलसमेत गरे। उनले भने, ‘अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौं’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो। यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौं। गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो। उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो। यहाँलाई जिताएर पठाउनुस्, तपाईंहरूको मतको उचित सम्मान हुनेछ।’
यस्तै उनले मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नति कार्य धीमा गतिमा रहेकाले यसलाई तीव्रता दिन सरकारको तर्फबाट गम्भीर पहल हुने आश्वासन दिए। जिल्लाका सडकहरू कालोपत्रे गर्न सरकारको गम्भीर ध्यान जाने उनको भनाइ थियो। साथै देवघाटमा सांस्कृतिक विश्वविद्यालयका लागि सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।