काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयहरुमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गरेको छ।
आयोगले कतिपय विद्यालयहरुमा मतदान केन्द्रसमेत भएको र सुरक्षाको कारण देखाउँदै सरकारसँग तीन दिन सार्वजनिक बिदा दिन अनुरोध गर्ने निर्णय गरेको हो।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘२०८०/०१/०८ देखि मिति २०८०/०१/१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने,’ आयोगको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको छ। बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।