काठमाडौं– निजामती कर्मचारी विधेयक सरकारले एकलौटी रुपमा अघि बढाएको र आफूहरुले उठाएको कुरा सुनुवाइ नभएको भन्दै कर्मचारीहरूका ट्रेड युनियनहरूले सिंहदरबार ठप्प पार्ने चेतावनी दिएका छन्।
उनीहरुले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन्। कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले बताए। निजामती कर्मचारी ट्रेड युनियनहरूले संयुक्त रुपमा आन्दोलन गर्ने र प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने उनले चेतावनी दिए।
ट्रेड युनियनहरूले बैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाउने र बैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहेर आन्दोलन गर्ने उनले बताए।
कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको भन्दै उनले अहिले पनि सुनुवाइ नगरे थप कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले उनीहरूको आरोप छ। कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनीहरूको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।