काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचार नियन्त्रणको सम्पूर्ण जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नभएको बरु राजनीतिक नेतृत्वको भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शीर्ष तहमा रहेका राजनीतिक नेताहरुलाई जनताले सफा देखेमात्रै भ्रष्टाचार रोकिने बताए।
‘कानुनले मात्रै भ्रष्टाचार रोकिँदैन। राजनीतिक नेतृत्व भ्रष्टाचार रोक्न कटिबद्ध भयो भने, त्यो इच्छाशक्ति रह्यो भने, भ्रष्टाचार नगर्ने मान्छेहरु छान्यो भने भ्रष्टाचार धेरै हदसम्म कम भएर जान्छ’, उनले भने।
उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारले मात्रै सकेन भनेर अख्तियारतिर मात्रै औंला ठड्याउन नहुने बताए। उनले भने, ‘राजनीतिक दलहरु आफैं कसरी सुध्रिने, आफ्नो लागि विश्वसनीय परिस्थिति बनाउने दायित्व राजनीतिक नेतृत्वको काँधमा छ।’
उनले राजनीतिक नेतृत्वले बिना पूर्वाग्रह योग्य मान्छेहरु ल्याउन सक्ने ठाउँहरु ऐनमा राखिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।