काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जिन्दगीमा एक पटक पनि लाभको पदमा नपुगेका व्यक्तिलाई मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले लाभको पद नलिएको मानिसलाई छान्दा मात्रै अरु समस्याको हल हुनसक्ने बताए।
‘कुनै पनि पटक लाभको पदमा बसेको वा अख्तियार प्रयोग गरेको मानिस अख्तियारमा जाँदा त्यसले कुनै न कुनै रुपमा प्रभावित तुल्याउँछ, तुल्याउँछ’, उनले भने, ‘जिन्दगीमा एक पटक पनि लाभको पद नलिएको, अख्तियार प्रयोग नगरेको र विज्ञको रुपमा विकसित भएका मानिसहरुलाई छानियो भने मात्रै अरु कुराको हल गर्न सकिन्छ।’
उनले संवैधानिक निकायहरु रिटायर्ड क्लबहरु जस्ता भएको पनि बताए। ‘त्यहाँ गएर पावर इन्जोय गर्ने, रेस्ट गर्ने, कुलिङ पिरियडको रुपमा गुजार्ने जस्तो भएको छ’, उनले भने।
सांसद सापकोटाले अख्तियारमा तामेली भन्ने रोग रहेको भन्दै त्यसलाई हल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।