कञ्चनपुर– बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा असन्तुष्टि बढेपछि प्रहरीले डिएनए परिक्षण गर्ने भएको छ। पक्राउ परेका अभियुक्त दिलीपसिंह बिष्टको डिएनए परिक्षण गर्न लागिएको हो।
डिएनए परिक्षणमा उनले नै बलात्कार गरेको हो/होइन प्रष्ट हुनेछ।
पन्तको बलात्कार र हत्या आरोपमा सोमबार स्थानीय ४१ वर्षिय दिलीपसिंह बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएकोमा स्थानीयले उनी बास्तविक अभियुक्त नभएको आशंका गरेका छन्। मृतकका आफन्त तथा स्थानीयले मानसिक सन्तुलन नभएका व्यक्तिलाई अभियुक्तका रुपमा पेश गरेर झुक्याउन खोजेको आरोप लगाएका छन्। प्रहरीको विरोधमा मंगलबारदेखि नै आन्दोलन भइरहेको छ। उनीहरुले जिल्लाका सिडिओ र एसपीको सरुवा हुनुपर्ने बताएका छन्।
गत साउन १० गते १३ बर्षिया पन्तलाई एक्लै देखेपछि बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। उनी यौन बिक्षिप्त व्यक्ति भएको र एकान्तमा महिला देख्ने वित्तिकै यौनअंग देखाउने गरेको प्रहरीको बिज्ञप्तीमा उल्लेख छ।
बाटोमा एक्लै किशोरीलाई देखेपछि बलात्कार गरेको र पक्राउ पर्ने डरले हत्या गरेको अभियुक्तले स्वीकारेका छन्। तर, प्रहरी अनुसन्धानमा स्थानीयहरु सन्तुष्ट छैनन्।
जाहेरी दिन अस्वीकार
मृतकका आफन्तले बिष्टविरुद्ध जाहेरी दिन अस्वीकार गरेका छन्। बास्तविक हत्यारालाई जोगाउन खोजेको उनीहरुको आरोप छ।
अभियुक्तलाई पक्राउ गरेपछि प्रहरीले निर्मलाकी बुबालाई बोलाएर जाहेरी दिन आग्रह गरेको थियो। तर, उनी जाहेरी नदिने भन्दै प्रहरीसँग रिसाएर निस्किएका थिए।
जाहेरी नपरेपछि प्रहरी जाहेरीका आधारमा मुद्दा प्रक्रिया अघि बढेको छ।
मृतकका आफन्तले स्थानीय आँचन भन्ने रोशनी बमलाई जोगाउन खोजेको आरोप लगाएका छन्। बमकै घरबाट फर्कदा निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
छोरी हराएपछि उनको परिवार बमको घरमा गएकोमा उनले ‘पोइला गई होला’ भन्ने जवाफ दिएकी थिइन्। सोही कारण उनीप्रति मृतकका आफन्तले शंका गरेका थिए।
प्रहरीले उनको मोबाइलको विवरण हेर्ने देखि पोलिग्रामसम्म गरिएको जनाएको छ।
एसपीको कार्यशैलीका कारण थप विवाद
निर्मला हत्या प्रकरणमा स्थानीयहरु पहिलेदेखि नै असन्तुष्ट हुनुको कारण कञ्चनपुरका एसपी दिल्लीराज बिष्टको कार्यशैली पनि हो। उनीसँग पहिलेदेखि नै स्थानीय असन्तुष्ट थिए।
कतिपय घटनालाई निष्पक्ष रुपमा अनुसन्धान नगरेको तथा बोली व्यवहार पनि राम्रो नगरेकाले स्थानीयहरु रिसाएका थिए। सोही कारण पनि प्रहरी अनुसन्धानमाथि असन्तुष्टि जनाएका छन्।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले एसपी बिष्टको सरुवा हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।