काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘ओली प्रवृत्तिका मानसपुत्र’को संज्ञा दिएका छन्। लामिछानेको नाम नलिइ भुसालले वैकल्पिक राजनीतिको नाममा अहिले ‘ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको’ टिप्पणी गरे।
‘नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन्। जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरुका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ,’ पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना बुधबार गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले भने, ‘आज त्यही भइरहेको छ। सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन्। यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भूमरिको नजिक छ।’
भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘यदुवंशी मुसल’ को संज्ञा दिए। उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए। उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफ्नो विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए। उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको पनि उल्लेख गरे।
‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो। यदुवंशी मुसल जन्मियो। त्यो ओलीवादको मुसल थियो। ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृतिका रुपमा हुर्कियो,’ उनले भने, ‘यसमा विचार के हो भन्दा म हो। मेरो हो, मेरा हुन्। ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त। म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामन्थीमा यदुवंशी मुसल तयार हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।