आरजु राणा (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसकी सांसद आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन्। बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिह्न उठेको भन्दै यसको सुधार हुनुपर्ने माग गरिन्।
उनले विश्वविद्यालयमा समेत विद्यार्थी भर्नाको संख्या कम हुँदै गइरहेको भन्दै यो राम्रो लक्षण नभएको बताइन्। उनले शिक्षामा लगानी अनुसारको प्रतिफल नमिलेको पनि बताइन्। सांसद राणाले शिक्षामा सुधारको लागि आधारभुत तथा माध्यामिक तहको निरन्तर मूल्याङ्कन गरिनुपर्ने र पृष्ठपोषण प्रदान गर्नुपर्ने बताइन्।




त्यस्तै, नतिजामा आधारित गरेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। सांसद राणाले विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्ने बताइन्। उनले देशभरका सरकारी विद्यालयका आधारभुत तहमा अंग्रेजी भाषाबाट पनि पठन–पाठन गर्न नीति, नियम र स्रोत, साधनको सुनिश्चितता गर्नुपर्ने बताइन्।
‘हाम्रो देशको विश्वविद्यालयमा पनि विद्यार्थी भर्नाको संख्या कम हुँदै जानु राम्रो लक्षण होइन। साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशाजनक कुरा रहेको छ। त्यसकारण यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन्, ‘आधारभुत तथा माध्यामिक तहको निरन्तर मूल्याङ्कन गरिरहनुपर्छ। र रेकर्डका लागि पृष्ठपोषण प्रदान गर्नुपर्छ। नतिजामा आधारित गरेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।