काठमाडौं– प्रतिनिधि सभा सदस्य उर्मिला माझीले निजी विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी भर्ना गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले वर्षैपिच्छे किताब फेर्ने चलन पनि अन्त्य गर्न माग गरिन्।
‘निजी विद्यालयमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्,’ उनले भनिन्, ‘वर्षैपिच्छे नयाँनयाँ किताब फेर्ने र कोर्स फेर्ने चलनको अन्त्य गरी न्यूनतम ३ वर्ष किताब फेर्न नपाउने व्यवस्था गरियोस्।’
शिक्षा नागरिकको नैसर्गिक अधिकार र मौलिक हकको रुपमा संविधानमा उल्लेख गरिएको भए पनि बालबालिकाले सहज र समान ढंगले शिक्षा नपाइरहेको उनको भनाइ छ।
‘महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन, कैयौँ मानिसहरु दिनप्रतिदिन गरिबीको खाडलमा जाकिँदै गइरहेका छन्,’ उनले भनिन्।
सांसद माझीले नेपालको इतिहासमै पहिलो पटक दूरदराजका बस्तीहरु र दुर्गम क्षेत्रमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुर्याउन सफल भएकोमा नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।
‘यसले विद्यार्थी र अभिभावकलाई खुसी मात्रै तुल्याएको छैन, समग्र शैक्षिक प्रणालीमै सकारात्मक परिवर्तन ल्याउनसक्ने देखिन्छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।