काठमाडौं– प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने भनिएको संवैधानिक परिषद्को बैठक बिना कुनै निर्णय गरी सकिएको छ।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा प्रधान्यायाधीश नियुक्तिको १ मात्रै अजेन्डामा छलफल भए पनि कुनै निर्णय नभएको परिषद्का सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए।
‘आजको बैठकमा प्रधान्यायाधीश नियुक्तिको विषयमा नै छलफल भयो। तर कुनै निर्णय भएन। अब अर्को बैठकले निर्णय गर्ने भन्ने भएको छ,’ बैठकपछि तिमिल्सिनाले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा दलका नेता केपी शर्मा ओली र उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध २०७८ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायालय नेतृत्वविहीन अवस्थामा छ। १४ महिनादेखि प्रधानन्यायाधीश नियुक्त नभएपछि पछिल्लो समय कानुन व्यवसायी र सरोकारवालाहरुले प्रधानन्यायाधीश नियुक्तिको विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।
संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।