काठमाडौं- स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधि सभामा विजयी भएका अमरेशकुमार सिंहले देशको व्यवस्था गणतन्त्र नभएर नेतातन्त्र भएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले देशमा लुटतन्त्र चलिरहेको टिप्पणी गरे।
‘हामीले गणतन्त्र यस्तै लुटतन्त्र बनाउन ल्याएका हौँ? यो त गणतन्त्र होइन। गणतन्त्र भनेको जनतन्त्र हुन्छ। जनताको तन्त्र हुन्छ। तर, यो नेतातन्त्र हो। नेतातन्त्रबाट अर्थतन्त्र डुब्न लागेको छ’, उनले भने।
उनले आफ्नो मान्छेबाट देश चलाउन खोजिएको बताए। भने, ‘राम्रो मान्छेलाई देशबाट भगाउन खोजिएको छ। वा, देशमा दबाएर राख्न खोजिएको छ। यो देशले धान्न सक्दैन।’
उनले आर्थिक अनुशासनको जबसम्म एउटा स्वेतपत्र, नीति निर्देशन सदनबाट पास हुँदैन, तबसम्म यो देशको अर्थतन्त्र भगवानले पनि बचाउन नसक्ने उनको भनाइ छ। ‘यो पशुपतिनाथको देश हो, पशुपतिनाथ वा मुक्तिनाथले पनि बचाउन सक्दैन। हामी आफैं दुर्घटनाको कारण हौँ। दुर्घटनाको कारण अहिलेको राजनीतिक नेतृत्व हो। कुनै एउटा पार्टी, कुनै एउटा राजनीतिक दल, कुनै एउटा सरकारले मात्रै होइन’, उनले भने।
उनले सबैले राजनीतिक दुर्घटना र आर्थिक संकटको कुरा गरे पनि समस्या समाधानको कुनै उपाय नचालिएको बताए। ‘आर्थिक समस्या समाधानको एउटै उपाय छ, साधारण खर्च घटाऔं, पुँजीगत खर्च बढाऔँ’, उनको सुझाव छ।
उनले प्रदेशमा मन्त्रीको संख्या धेरै राखिएकोमा पनि असन्तुष्टि जनाए।
‘मधेस प्रदेश आठ जिल्लाको हो। आठ वटा सीडीओले आठ जिल्ला सञ्चालन गर्छ। तर, प्रदेशको मन्त्री १५ जना चाहिएको छ। प्रोटोकलमा सीडीओभन्दा माथि चाहियो। सेक्युरिटी, गाडी, ड्राइभर चाहियो। यो राजनीतिक लुटतन्त्र हो। यसबाट हामी कहीँ पनि पुग्दैनौँ। हामी व्यवस्थालाई दोष दिन्छौँ। व्यवस्था होइन, यहाँका व्यक्ति दोषी हुन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।