काठमाडौं- सोमबार शान्तिबाटिकामा मिटरब्याज पीडितहरुलाई प्रहरीले गरेको अत्यधिक बल प्रयोगप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण भएको बताएको छ।
आयोगले वक्तव्य जारी गर्दै आयोगले घटनाको स्थलगत अनुगमन गरेको पनि बताएको छ। ‘काठमाडौंको शान्ति बाटिकामा शान्तिपूर्ण धर्नामा रहेका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्तिबाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।
धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्याधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्न लगायतका सामग्रीहरु जबरजस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको वक्तव्यमा उल्लेख छ।
‘घाइतेहरुमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीन जना गम्भीर घाइते भएको आयोगको अनुमनको क्रममा पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ।
आयोगले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत् समस्याको समाधान गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।