काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सदनमा सांसदहरुले सोधेको प्रश्नको जवाफ नआउने गरेको बताएकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले केही प्रश्नको उत्तर आउने गरे पनि आश्वासन दिने पाराको आउने गरेको बताइन्।
‘हामी यहाँ प्रश्न सोध्छौँ तर अधिकांश प्रश्नहरुको जवाफ आउँदैन। कुनै कुनै प्रश्नको सम्बन्धित मन्त्रीहरुबाट जवाफ आउँछ। तर आश्वासन दिने पाराको मात्रै आउँछ’, उनले भनिन्।
श्रेष्ठले सदनमा उठ्ने प्रश्न र उत्तरको राम्रोसँग अभिलेख हुनुपर्ने बताइन्। ‘सम्बन्धित मन्त्रीहरुहरुबाट सोधिएका प्रश्नहरुको उत्तर आयो कि आएन भनेर रेकर्डमा बस्नुपर्यो। प्रश्न नै गलत छ वा पूर्वाग्रही छ भने त्यो पनि भन्नुपर्यो, कारण सहित’, उनको सुझाव थियो।
जवाफ दिन तयारी र तथ्यांक चाहिने कुरा आफूले बुझेको र तुरुन्त दिन नसकिने उनको भनाइ थियो। तर कहिलेसम्म सकिन्छ भनेर पनि भन्नुपर्ने उनले बताइन्।
‘घरिघरि ताकेता गर्नु नपर्ने गरी आउनुपर्यो। मेरा थुप्रै नयाँ प्रश्नहरु छन्। तर पुरानै प्रश्नहरुको जवाफ नआएकाले म नयाँ सोध्दिनँ। पुरानै दोहोर्याउँछु’, उनले भनिन्।
श्रेष्ठले मिटरब्याज पीडितहरुको आन्दोलन काठमाडौंमा भइरहेको भन्दै स्थानीय र प्रदेश सरकारबाट माग पूरा गर्न कानुन पर्याप्त नभएको हो? भन्ने प्रश्न गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।