काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको समितिमा पठाउने सांसदहरुको टुंगो लगाएको छ। दलको बैठकपछि राप्रपाले सांसदहरूलाई संसदीय समिति विभाजन गरेको पत्र सोमबार प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श शाखामा बुझाएको छ।
राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरेको छ। त्यस्तै अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पशुपति शमशेर राणा र धवल शमशेर राणा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा गिता बस्नेतलाई तोकेको छ।
त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा धुव्रबहादुर प्रधान, महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्कीलाई तोकेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धीमान तामाङ, पूर्वाधार समितिमा दीपक बोहोरा र बिना लामा , शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिना जैशवाललाई तोकिएको छ।
सार्वजनिक सम्पत्ति हिनामिना र भ्रष्टाचारको अनुसन्धान गर्ने लेखा समितिमा भ्रष्टाचारको मुद्दा सर्वोच्चमा विचाराधीन रहेका पाण्डेलाई पठाएको हो। क वर्गको ठेकेदार रहेका पाण्डेलाई सिक्टा सिँचाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरुमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषबाट पाण्डेसहित २१ जनाले सफाइ पाएका थिए। लेखा समितिले सरकारी आयोजनामा हुने अनियमिततामाथि पनि छानबिन गर्ने गर्दछ। उक्त समितिमा नै राप्रपाले अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएका सांसदलाई पठाएपछि स्वार्थ बाझिने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।