काठमाडौं– मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रेका पीडितमाथि प्रहरीले दमन गरेको छ। प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबभित्र राखेपछि पनि दमन गरेको उनीहरूले बताएका छन्।
रत्नपार्कमा आन्दोलरत उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेर पुलिस क्लबमा लगेको थियो। प्रहरीले आफूहरूलाई उक्त क्षेत्रमा अन्धाधुन्ध लठी प्रहार गरेको र प्रहरीको दमनका कारण पीडित र आन्दोलनमा सर्मथन रहेका व्यक्तिहरू घाइते भएको उनीहरूले आरोप लगाएका छन्।
प्रहरीको लाठी प्रहारबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनको अवस्था गम्भीर रहेको र अन्य केही व्यक्ति घाइते भएका बताइएको छ।
सोमबार शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको थियो। प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजी पीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडित एक सदस्यले बताए।
उनले शान्तिपूर्ण रुपमा आफूहरूले प्रदर्शन गर्न लागेपनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए।
उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए। आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै उनले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन गरिराख्ने चेतावनी दिए।
शान्तिबाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।