काठमाडौं– विशेष अदालत काठमाडौंले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भएको भ्रष्ट्राचारको मुद्दामा पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको छ।
अकुत सम्पत्ति मुद्दामा अदालत उपस्थित नभएपछि विशेषले पक्राउ गरेर पेस गर्नु भनि आदेश गरेको हो। न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले पक्राउ गर्न पुर्जी जारी गरेको हो।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार वादीको साक्षी पटक–पटक ताकेता गर्दा पनि अदालतमा उपस्थित नभएपछि इजलासबाट पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहित ४ जनाविरुद्ध २०७५ पुस २३ गते अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दा दायर गरेको थियो।
खड्का आयल निगममा रहँदा जग्गा खरिदसहित अन्य विवादमा तानिएका थिए। अख्तियारले खड्काले १८ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी अभियोगत्रमा गरिएको छ।
खड्काले २०६९ साल चैतदेखि मुद्दा चल्दाको समयसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा पापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारको अनुसन्धानमा खड्काको पुर्खौली घर बाहेक ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको तर, त्यसको आम्दानीको स्रोत पुष्टि नभएको दाबी अभियोगपत्रमा गरेको छ। २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारको आरोपपत्रमा उल्लेख छ।
घर र जग्गा खरिदमा ११ करोड ६१ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ पनि खर्च भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
खड्काले विभिन्न बैंकका एटीएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार रुपैयाँ खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा २ करोड ७१ लाख ५३ हजारसमेत गरी २५ करोड २८ लाख नगद भेट्टिएको थियो।
उनको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। खड्काले आर्जन गरेको गैरकानुनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको अभियोगपत्रमा दाबी गरिएको छ। उनले अमिता लामा सोदेम्बाको नाममा जम्मा ७ करोड ५४ लाखको सम्पत्ति लुकाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
खड्काले हात्तीगौडास्थित सिजी हिल्समा ३ करोड २५ लाखमा घर खरिद गरेका थिए। यसैगरी बूढानीलकण्ठमा ४० लाख ११ हजारको ८ आना जग्गा खरिद गरेको पनि भेटिएको छ। ८४ लाख ४६ हजारमा टक्सन गाडीसमेत खरिद गरेका छन्।
अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेकोसमेत भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।