काठमाडौं– लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयहरू खुशी भएका छन्।
२०६७ मा जग्गा पूर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो। रोक्का भएको लालपूर्जा फुकुवा भएपछि स्थानीयहरू हर्षित भएका हुन्।
१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरू हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयहरूले बताए। विभिन्न समयमा राजनीतिक दलका नेताले आ–आफ्नो अजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाइ छ।
राष्ट्रिय भूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताए। पटकपटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयहरू सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताए।
उनले पछि मालपोतबाट जग्गाको काम भएपछि मात्र स्थानीयहरूले विश्वास गरेको भण्डारीको भनाइ छ। पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमि सम्बन्धी आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरू गरेपनि पूर्णता भने दिन सकेका थिएनन्।
पछिल्लो पटक बनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिव ११ सय लालपूर्जा फुकुवा गरेको छ। त्यस्तै, नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पूर्जा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।