काठमाडौं– भन्सार विभागको तथ्याङ्कअनुसार ७० को दशक (२०७०देखि २०७९ सालसम्म)मा विश्वका विभिन्न मुलुकबाट ११६ खर्बभन्दा बढीको वस्तु नेपालले आयात गरेको छ। आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ११६ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्याङ्क छ।
विभागको तथ्याङ्क हेर्दा नेपाल सर्वाधिक वस्तुमा परनिर्भर बन्दै गएको देख्न सकिन्छ। ७० को दशकसम्म नेपालले एक आर्थिक वर्षमा ६ खर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको थिएन। त्यसयता आयात निरन्तर बढेर ७ खर्बदेखि गत वर्षसम्म आइपुग्दा तेब्बरले बढेको पाइयो।
नेपालले आर्थिक वर्ष २०६९/७० मा ६ खर्ब १ अर्ब २० करोड रुपैयाँको वस्तु आयात गरेको थियो। आर्थिक वर्ष २०७०/७१ मा ७ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँको वस्तु आयात गरेको थियो भने २०६९/७० को तुलनामा उक्त वर्ष ७.७१ प्रतिशत बढी आयात भएको देखिन्छ। यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ७ खर्ब ८६ अर्ब १९ करोड १४ लाख ३ हजार रुपैयाँको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७२/७३ मा ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको आयात भएको छ। जसअनुसार आव २०७/र७२ को तुलनामा आव २०७२/७३मा १.४६ प्रतिशतले कम आयात भएको छ।
आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैयाँको आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३को तुलनामा उक्त वर्षमा २७.०३ प्रतिशतले आयात बढेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५मा १२ खर्ब ४५ अर्ब १० करोड ३२ लाख २३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७३/७४ को तुलनामा २६.५० प्रतिशतले आयात बढेको देखिन्छ।
आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७४/७५ को तुलानामा १३.९३ प्रतिशत आयात बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७५/७६ को तुलनामा १५.६३ प्रतिशतले आयात घटेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात भएको छ भने उक्त वर्ष आर्थिक वर्ष २०७६/७७को तुलनामा २८.६६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७७/७८ को तुलनामा २४.७२ प्रतिशतले आयात बढेको थियो। जुन आयात हालसम्मकै उच्च हो। यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तासम्म १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात भएको भने अघिल्लो वर्षको फागुन मसान्तासम्म आयात भएको तुलनामा १९.१३ प्रतिशतले कम देखिएको छ।
निरन्तर बढ्दो आयातले स्वदेशी उत्पादन घट्दै गएको छ। देशको कुल जनसंख्याको ६५ प्रतिशत कृषिमा आबद्ध हुँदा पनि कृषिजन्य वस्तुको आयात झन् बढ्दै गएको तथ्याङ्कले देखाउँछ।
सरकारले हरेक वर्ष कृषि उत्पादन बढाउने रणनीति लिए पनि उत्पादन बढाउन पर्याप्त स्रोत तथा साधनको व्यवस्था गर्न नसक्दा नेपालको कृषि क्षेत्र पछाडि पर्दै गएको सरोकारवालाको गुनासो रहेको छ।
यहि दशकमै नेपालले भूकम्प, नाकाबन्दी र कोरोना कहर तथा रुस–युक्रेन युद्धका कारण महङ्गी बढ्यो। २०७२ मा महाभूकम्प आयो। सोही वर्षमा नेपालले संविधान सभाबाट नयाँ संविधान जारी गर्यो। उक्त संविधान जारी भएपछि भारतले ६ महिना लामो नाकाबन्दी गर्यो।
भूकम्पले वैदेशिक व्यापार प्रभावित भएको बेला भारतले लगाएको नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बन्यो। सोही वर्ष नेपालले ७ खर्ब ८१ अर्ब १४ करोड रुपैयाँको वस्तु आयात गरेको थियो। त्यसको अघिल्लो वर्ष ७ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो। ७० को दशकको मध्यतिर चीनको बुहानबाट सुरु भएको कोरोना विश्वव्यापी रुपमा फैलियो।
कोरोना संक्रमण रोक्न भन्दै २०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछि नेपाल र चीन जोड्ने नाका बन्द भए। त्यसपछि दुईबीचको व्यापार चौपट भयो। उत्तरी नाकामा व्यवसाय गरेर बसेका स्थानीय समेत विस्थापित भए। त्यसपछि आयात उच्च बढ्यो भने निर्यात झनै खस्किँदै गयो।
गत असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो। त्यसका लागि पनि नेपाल सरकारले ठूलै प्रयास गर्नुपरेको थियो। परराष्ट्र मन्त्रालयले निरन्तर व्यापार सहजीकरण गर्न आग्रह गरेपछि २०७८ असोजमा केरुङबाट ७ ट्रक र तातोपानी नाकाबाट १० देखि १५ कन्टेनर सामान ल्याउन दिइएको थियो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि पुस १२ गते रुसुवा नाकाबाट करिब ५२ लाख रुपैयाँको ८ कन्टेनर मालसामान चीन निकासी भएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा नेपालको तर्फबाट गएको वाणिज्य सचिव मधु मरासिनी नेतृत्वको प्रतिनिधि मण्डल र तिब्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष म्यान सिलाङ निमासहितको प्रतिनिधिबीच मार्च २९ मा भएको वार्ताले सीमा नाका खुला गर्ने सहमति गरेको थियो।
नेपाल र चीनबीचको सहमतिअनुसार गत अप्रिल १ देखि रसुवागढी नाका दुईतर्फी खुल्यो। आगामी मे १ बाट हुम्लाको यारी नाका पनि दोहोरो व्यापार र पर्यटकका लागि खुला गर्न २ देशले सहमति गरेका छन्।
मे १ बाटै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दोहोरो व्यापार खुला हुने भए पनि पर्यटकका लागि भने खुला नगर्ने भएको छ।
यही दशकको अन्त्यतिर रुस‑युक्रेन युद्धले मूल्यवृद्धि आकासियो। खानेतेल, पेट्रोलियम पदार्थलगायतको अप्रत्यासित मूल्यवृद्धिले उपभोक्ता प्रभावित भए।
उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले बिलासी वस्तुको आयातमा प्रतिबन्ध लगायो। त्यस प्रतिबन्धले व्यापार झन् प्रभावित भयो। विदेशी मुद्राको सञ्चिति बढेपनि राजस्व असुलीमा ठूलै प्रभाव पर्यो। सरकारको चालू खाता घाटामा परिणत भयो। उक्त खाता अहिले करिब ८६ अर्ब रुपैयाँ घाटामा रहेको छ।
निर्यात निरासाजनक
आर्थिक वर्ष २०६९/७० मा ७७ अर्ब ४० करोड २२ लाख ६५ हजारको निर्यात भएको थियो। आर्थिक वर्ष २०७०/७१ मा ८९ अर्ब ६२ करोड २७ लाख २७ हजार रुपैयाँको निर्यात भएको थियो। जस अनुसार २०६९/७० को तुलनामा २०७०/७१मा ७.३१ प्रतिशतले निर्यात बढेको थियो।
आर्थिक वर्ष २०७१/७२ मा ८५ अर्ब १९ करोड ४७ लाख ५४ हजार रुपैयाँको निर्यात भएको थियो भने २०७२/७३ मा ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो। जसअनुसार २०७१/७२ को तुलनामा २०७२/७३ मा १७.५४ प्रतिशतले कम निर्यात भएको देखिन्छ।
आर्थिक वर्ष २०७३/७४मा ७३ अर्ब ३ करोड ६२ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष २०७२/७३को तुलनामा ३.९६ प्रतिशतले निर्यात बढेको देखिन्छ।
आर्थिक वर्ष २०७४/७५मा ८१ अर्ब ३५ करोड ९७ लाख ९६ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७३/७४ को तुलनामा ११.४० प्रतिशत निर्यात बढेको थियो।
आर्थिक वर्ष २०७५/७६मा ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको निर्यात भएको थियो भन उक्त वर्ष २०७४/७६को तुलनामा १९.३६ प्रतिशतले निर्यात बढेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष ०.७९ प्रतिशतले निर्यात बढेको थियो। आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष २०७६/७७को तुलनामा ४४.४३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष ४१.७४ प्रतिशतले निर्यात बढेको देखिन्छ।
आर्थिक वर्ष २०७९/८०को फागुन मसानतासम्ममा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात भएको छ।
अघिल्लो वर्षको फागुन मसान्तासम्मको तुलनामा यसवर्ष निर्यात २९.०७ प्रतिशतले कम देखिएको छ।
७० को दशकमा आयातमा उत्साह देखिए पनि निर्यातको तथ्याङ्क निराशाजनक नै देखिन्छ। आर्थिक वर्ष २०७३/७४ सम्म निर्यात निरन्तर घटेको देखिन्छ। त्यसलाई भूकम्प र नाकाबन्दीको असरको कारण मानियो। २०७४/७५ देखि भने निर्यात केही बढेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार २०७८/७९ मा नेपालले २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। तर, निर्यातमा ५० प्रतिशतभन्दा बढी हिस्सा आयातित तेलको रहेकाले चालु आवमा निर्यात घट्ने देखिन्छ।
सरोकारवालाहरु ७० को दशक व्यापारी व्यवसायीका लागि कष्टकर भए पनि आयात निकै बढेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।