पिउरी– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन्।
पिउरी दोभानको भित्री कच्ची सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा जिपका चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट १०८ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।
जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन्।
घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।