काठमाडौं- गाडी र सवारी साधनका पाटपूर्जा चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र मकवानपुरको थाहा नगरपालिका-१२ घर भई हाल काठमाडौं चोभार बस्ने २३ वर्षीय किरण स्याङतान छन्।
गएको चैत ३० गते राति १० बजेको समयमा चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि राजेन्द्र खड्काले पार्किङ गरी राखेको बा५ च ९६५७ नम्बरको गाडी हराएको र अन्दाजी राति ११ बजेतिर सोही वडाको चारघरेस्थित सुवर्ण महर्जनले सञ्चालन गरेको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपूर्जाहरू चोरी भएको भनि प्रहरी वृत्त कीर्तिपुरमा सूचना प्राप्त भएपछि टोली खटिएको थियो।
खोजतलास गर्दै जाने क्रममा चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको उक्त हराएको भनिएको गाडी र गाडीभित्र रहेका लामा र स्याङतानलाई पक्राउ गरिएको प्रहरी वृत्त कीर्तिपुरका डीएसपी राजु लामाले बताए।
ती दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू उनीहरूले नै चोरी गरेको खुलेको डीएसपी लामाले बताए। पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।
उनीहरूको साथबाट च्यासिस नम्बर 374463FZ926620 र इन्जिन नम्बर 497SP28ESZ863020 भएको बा५च ९६५७ नम्बरको सेतो रङ्गको टाटा डीआई गाडी एक थान, पानी तान्ने मोटर चार थान, गाडीको ब्याट्री एक थान, कवाडी पाईप, गाडीको गिल्सिन लगायत गाडीका विभिन्न पाटपूर्जाहरू बरामद गरिएको डीएसपी लामाले बताए। उनका अनुसार बरामद भएका धनमालहरूको मुल्य ६ लाख ९९ हजार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।