काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार महासंघको अध्यक्षको रूपमा पदभार ग्रहण गरेका छन्। ढकाल हालै सम्पन्न ५७औं वार्षिक साधारणसभाबाट महासंघको २०औं अध्यक्षमा निर्वाचित भएका हुन्।
ढकाल महासंघको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औं वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष बनेका ढकालले आइतबार पदभार ग्रहण गरेका हुन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ।
बिहीबार सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको सपथ लिएका हुन्। आइतबार महासंघ अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयमा केन्द्रित रही काम गर्ने बताएका छन्।
पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो– लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, र, पाँचौ–राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजाने दृढताका साथ महासंघ अघि बढ्ने ढकाल बताउँछन्।
महासंघको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी व्यवसायीहरूलाई लगानी प्रवर्द्धनका कार्यक्रम लिएर महासंघले विशेष अभियान सन्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिएका छन्।
अध्यक्ष ढकालले सबैजना उद्योगी व्यवसायीहरूको आशा र भरोसाको संवाहक बनेर महासंघले काम अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी, व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गरेका छन्।
जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने प्राथमिकताको रहेको पनि ढकालले उल्लेख गरेका छन्।
उद्योग व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरू संशोधन गर्दा वा नयाँ नीति तथा कानुन तर्जुमा गर्दा सरकार र नीति निर्माणकर्ताहरूसँग सघन सहकार्यका लागि समेत आफूले पहल लिने अध्यक्ष ढकालले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।