काठमाडौं– मिथिलाञ्चलमा शनिबार हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ।
वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन्। यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ।
होली पर्वमा रङ/अबिर दलेर खेलेजस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ। जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ। पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे। अचेल यो परम्परा लोप हुँदै गइरहेको छ।
मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ। जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा सेभ हिस्टोरिकल जनकपुरधामको अगुवाईमा केही वर्ष यतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ। पछिल्लो समय युवा पुस्तामा मिथिला क्षेत्रमा पनि जुड शितलको महत्व बिस्तारै कम हुँदै गरेको स्थानीयहरू बताउँछन्।

शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ। गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्युन हुने गरेको विशेषज्ञहरू बताउँछन्। यसअघि बिहीबार मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाईन पर्व मनाइएको छ।
पर्वको अवसरमा घर–घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ। घरका देवीदेवतालाई प्रसादका रुपमा सातु अर्पण गर्ने गरिन्छ। त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्छन्। चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।