काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई कुनै पनि बाहनामा शुल्क नलिन सूचित गरेको छ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको प्राथमिक र माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग शुल्क नलिन निर्देशन दिएको हो।
शिक्षा नियमावली, २०७९ (नवौं संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग र माध्यमिक तहमा अध्ययन गर्ने नियम १५२ बमोजिमका विद्यार्थीसँग नियम १४६(१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था रहेकाले शुल्क नलिन महानगरपालिकाले निर्देशन दिएको हो।
शिक्षा ऐन, २०२८ (संशोधन सहित)को दफा १६ (घ) को उपदफा(क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिने व्यवस्था भएता पनि कतिपय सामुदायिक विद्यालयहरुले अभिभावकसँग सहयोगका नाममा उसको इच्छा विपरीत रकम लिएको गुनासो विभागमा आएकाले सामुदायिक विद्यालयहरुलाई ऐन नियम विपरीत कुनै पनि शुल्क नलिन सूचित गरेको शिक्षा अधिकारी रामपसाद सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।