काठमाडौं– मन्त्री बन्नका लागि दुई करोड रकम माग गरिएको अडियो सार्वजनिक भएपछि पहिलो पटक सञ्चारमाध्यममा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो बचाउ गरेका छन्। उनले उक्त अडियो आफ्नो नभएको, इडिट गरिएको दाबी समेत गरे। उनले आफू न्यायालय गएको र त्यहाँबाट क्लिनचिट पाएर आउने दाबी पनि गरे।
उनले पत्रकारहरूसँग कुरा गर्न आउँदा सुरुमै प्रश्नहरूको सामना नगर्ने बताए। श्रेष्ठले आफ्नो कुरा राख्ने अनि गइहाल्ने भन्दै ह्वाट्सएपमा कुराकानी भएको भनिएको र विभिन्न ठाउँमा जोडिएर आएको दाबी गरे। उनले आफू न्यायालयमा मंगलबार नै गइसकेको र अदालतबाट क्लिनचिट ल्याएर आउने भन्दै धैर्य गर्न आग्रह गरे।
उक्त प्रकरणमा फसेका श्रेष्ठले ‘फेक अडियो’ बनाइएको भने तर, किन बनाइएको र कसले भन्ने पत्रकारको प्रश्नमा जवाफ नै नदिइ उठेर हिँडे। यद्यपि, उनले जनवरीमा कुराकानी भएको अडियो भन्दै स्वीकार पनि गरे। उनले उक्त समयमा भएको कुरा अहिले ल्याएर हाल्नु नियोजित नै भएको दाबी गर्दै आफ्नो बचाउ गरे। श्रेष्ठले एकातिर त्यो आवाज आफ्नो नभएको दाबी गरे भने अर्कोतिर जनवरीमा गरिएको कुराकानी अहिले ल्याएर हाल्नु नियोजित भने।
साथै, श्रेष्ठले आफू न्यायालयमा गएको बताएपनि कुन अदालतमा र के मुद्दा लिएर गए भन्ने कतै उल्लेख गरेनन्। यस विषयमा हामीले खोजी गर्दा श्रेष्ठले भनेजस्तो मंगलबार कुनैपनि अदालतमा उनले मुद्दा दायर गरेका छैनन्। प्रहरीको साइबर ब्यूरोमा पनि यस विषयमा कुनै उजुरी नपरेको ब्यूरो स्रोतले जनायो।
सांसदको रुपमा उनले घूस माग्दै गरेको डिल भ्रष्टाचार हो। यसमा उनले आफैंले मुद्दा दायर गरेर क्लिनचिट प्राप्त हुँदैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ। विशेषले सफाइ दिएमा मात्र उनले यो प्रकरणमा उन्मुक्ति पाउँछन्। त्यस्तै, अर्को बाटो भनेको अख्तियारले अनुसन्धान सकेर मुद्दा चलाउन नपर्ने भनी निर्णय गरेमा उनले उन्मुक्ति पाउँछन्।
घूस लेनदेनमा सजाय हुन्छ भन्ने नजिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायाण पाठकको मुद्दा हो। पाठकले अख्तियारमै रहेर घूसको डिल गरेका थिए। उक्त प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय पनि सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।