काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पारे।
बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अर्बौंको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देशभित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताए।
‘यो विधेयक हरेक हिसाबले मुलुकका लागि आवश्यक छ। सुरक्षण मुद्रणका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेश जाने गरेको छ। यतिमात्र होइन, स्वेदशमा सुरक्षण मुद्रण नहुँदाखेरी नक्कली मुद्रणको प्रयोग गरेर, ती स्टिकरहरू प्रयोग भएर राजस्व अपचलनमा पनि यसले एउटा गम्भीर समस्या सिर्जना गरेको छ’, कार्कीले भने, ‘नेपालको सुरक्षण मुद्रण सुरु भयो भनेदेखि यसले एकातर्फ अर्बौं रुपैयाँको बचत मुलुकमा हुन पाउँछ। जसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिन्छ। यदि हामीले यथेष्ट बजेटको व्यवस्था गर्न सकेनौं भने यो विधेयक अगाडि बढाउनुको कुनै अर्थ छैन।’
नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।