काठमाडौं- नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले आफूलाई झुक्याउन खोजिएको भन्दै कांग्रेससँग वार्ता समाप्त भएको घोषणा गरेका छन्। तनहुँ- १ को उपनिर्वाचनको सम्मुखमा उनीमाथिको कारबाही फुकुवा गरेर कांग्रेसले पार्टीमा फर्काउने कोसिस गरेको थियो।
कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आफूहरूलाई अलमल्याउन खोजिएको उल्लेख गर्दै वार्ता नगर्ने घोषणा उनले गरेका हुन्। ‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ’, उनले भनेका छन्, ‘आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ।’
आफूले विगतमा गरेका गल्तीप्रति आत्मालोचना गर्ने, तनहुँ १ नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखेर जालझेलपूर्ण र अपमानजनक काम गरेको उनले उल्लेख गरेका छन्।
आगामी वैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनमा आफूहरूले उम्मेदवार खडा नगरेको बताउँदै स्वतन्त्र रहने उल्लेख गरेका छन्। उनले कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छलकपट निर्वाचनको परिणामपछि स्पष्ट हुने बताएका छन्।
उम्मेदवारका विषयमा संकेत गर्दै उनले भनेका छन्, ‘मतदान गर्दा २१औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।