काठमाडौं– सोमबार सरकारले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्ने धारणा व्यक्त गरेको छ।
मिटरब्याज पीडितले आइतबार सरकारसमक्ष राखेको ६ बुँदे मागबारे सरकारी टोलीले धारणा राखेको तर, पीडितका लागि पोजेटिभ नभएको मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नविन निर्गले जानकारी दिए।
‘हिजो वार्तामा ६ बुँदे माग राखेका थियौँ। आज गृहमन्त्रालयमा बसेको सरकारी टोलीले हरेक मागमा धारणा राख्यो तर पीडितका लागि पोजेटिभ छैन,’ उनले भने।
साथै, सरकारी टोलीसँगको वार्ता नसकिउन्जेल धर्ना जारी राख्ने र वार्ता सकिएपछि माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले जानकारी दिए।
आइतबार काठमाडौंको शान्तिबाटिकास्थित फल्चामा सरकारी टोली र पीडितबीच भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेस गरे।
उक्त मागपत्रमा उनीहरूले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।