काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दाबी गरेको छ।
श्रेष्ठको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उक्त अडियो कुराकानीमा भएको आवाज तथा अभिव्यक्तिहरु श्रेष्ठको नभएको दाबी गरेको छ। ‘सो सम्वादमा बोलेका अभिव्यक्तिहरु मा डा ढाकाकुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा मा डा ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षड्यन्त्र हो,’ श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अडियोमा सुनिएको जस्तो पार्टीमा श्रेष्ठलाई मन्त्री बनाउने कुरा नउठेको पनि विज्ञप्तिमा दाबी गरिएको छ।
श्रेष्ठको सचिवालयले उक्त अडियो सार्वजनिक गर्ने मिडिया (सञ्चारमाध्यम)लाई विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडाभन्दा कडा कारबाही हुनुपर्ने माग समेत गरेको छ।
रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो। उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ।
उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ। उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ अडियोमा श्रेष्ठले भनेको सुनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।