काठमाडौं– प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंले दुई दिनको अवधिमा काठमाडौं उपत्यकाबाट १३ जना जुवाडे पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
आइतबार दिउँसो साढे ४ बजेतिर बुढानिलकण्ठ नगरपालिका–८ मण्डिखाटारस्थित हेमा गुरुङको कोठाबाट जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ चुनिखेलका ३५ वर्षीय श्याम श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भइ हाल चुनिखेल बस्ने ३४ वर्षीय जितेन्द्र थापा मगर, रसुवाको उत्तरगया–५ का ४५ वर्षीय सुमन तामाङ, चुनिखेलकै ३५ वर्षीय इन्द्र श्रेष्ठ, ४५ वर्षीय प्रेम श्रेष्ठ र सिन्धुलीको तीनपाटन गाउँपालिका–९ का ३६ वर्षीय गणेश मगर रहेका छन्।
यसैगरी मण्डिखाटारकी २२ वर्षीया रोजी लामा, चितवनको भरतपुर महानगरपालिका–११ का ४९ वर्षीय जगतबहादुर गुरुङ र दोलखाको सुरीकी ४२ वर्षीया हेमा गुरुङ रहेकी छिन्।
उनीहरुको साथबाट तीन बूक तास र खालबाट एक लाख ७० हजार रुपैयाँ नगर बरामद गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
यस्तै शनिबार टोखा नगरपालिका–७ धापासीबाट चार जना जुवाडेलाई पक्राउ गरिएको छ। धापासीस्थित डेरामा बस्ने कविता घलेको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–९ की २९ वर्षीया कविता घले, सुलिकोटकै ३८ वर्षीया माया गुरुङ, झापाको विर्तामोड नगरपालिका–४ का ३८ वर्षीय विशाल राजवंशी र काठमाडौं महानगरपालिका–७ की ४२ वर्षीया शान्ति लामा रहेका छन्।
उनीहरुको साथबाट पनि प्रहरीले ६ बूक तास र खालबाट एक लाख ५ हजार रुपैयाँ नगर बरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।