काठमाडौं– हत्या गर्दै लुटपाट गर्ने गिरोहका दुई सदस्य १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ओखलढुंगाको साविक नर्मदेश्वर गाविस–७ देवीथान घर भइ ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भीमबहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस–६ घर भइ काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमानध्वज खड्का रहेका छन्।
उनीहरुले नेपालगन्ज उपमहानगरपालिका–५ का २८ वर्षीय विकास केसीको हत्या गरी सवारीसाधन लुटेका थिए। भे १ च ५८१ नम्बरको जीप चालक केसी कपिलवस्तुको साविक शिवपुर गाविस–१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेका थिए।
उक्त घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।