काठमाडौं- नक्कली फेसबुक आईडी बनाएर आफ्नै महिला साथीबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–२ घर भएका २६ वर्षीय विश्व शर्मा छन्।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पवर्तबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। उनीविरुद्ध सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।
शर्माले नक्कली आईडी बनाएर आफ्नै साथीलाई फ्रेण्ड रिक्वेस्ट पठाएका थिए। फेसबुकमा साथी बनेपछि माया-प्रेमको कुरा गर्ने गरेका थिए। मायाको नाटक गर्दै उनले पटकपटक गरी ती महिलालाई रकम पठाउन लगाएका थिए। त्यसपछि ती युवतीले पनि ६० लाख रुपैयाँ पठाएकी थिइन्।
६० लाख पठाइसक्दा पनि थप रकम माग गर्न थालेपछि आफू ठगिएको महसुस गर्दै ती यवती साइबर ब्यूरो पुगेकी थिइन्। युवतीको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।