तस्बिर: रामहरि न्यौपाने/रासस
नुवाकोट– नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन शनिबार सिन्दुरे जात्रा मनाउन लागिएको छ।
जात्राको मुख्य एवं विशेष दिन शनिबार दिउँसो ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।
गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल शनिबार बिहान धरमपानी पुगेका छन्। भैरवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पुर्याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर शनिबार बिहानीपख धरमपानीमा पुर्याइएको छ।
बिहीबार राति जालपादेवी मन्दिर पुगेका धामीसहितको लावालस्कर पनि शुक्रबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको छ। देवीघाटबाट मध्यरातमा लाम बगैँचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेको नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए।
जालपादेवी मन्दिरमा पुर्याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए। धामीधमिनीसहितको लावलस्कर भने मध्येरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोटतर्फ फर्काइएको छ।
‘उहाँ (धामी)लाई शक्ति स्वरुपमा भगवान भैरवीदेवीको प्रतीकका रुपमा गुज्रुको तान्त्रिकविधि चढाइएको हुन्छ’, उनले भने, ‘धामीले प्रत्यक्ष रुपमा भगवानसँग साक्षात्कारका क्रममा देवीदेवता साथमा लिएको (सल्बलाएको) हुन्छ, सोही कारण धामीलाई मध्यरातमा कोही कसैले नदेख्ने गरेर फर्काइन्छ।’ सिन्दुरे जात्रा सरकारी जात्राका रुपमा राष्ट्र प्रमुखको निर्देशनमा सञ्चालन हुने गर्दछ।
भक्तजन तथा जात्रालु, तीर्थालुले धामी–धमिनी एवं जालपादेवी र भैरवीदेवी मन्दिरको एकै स्थानमा दर्शन गर्न पाउने अवसर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा जुर्ने गरेको छ। भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन्।
गत फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज शनिबार सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमी (आगामी वैशाख २ गते) सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।